काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचकाे सम्बन्धलाई विकास कूटनीतिमा अगाडि बढाउनुपर्नेमा जाेड दिनुभएकाे छ ।
भारतको पाँच दिने भ्रमणमा रहनुभएका सभापति लामिछानेले आपसी सम्बन्धलाई परम्परागत राजनीतिक र भूराजनीतिक बहसको सीमा भन्दा माथि उठाएर विकास, लगानी, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो । भारतीय सञ्चारमाध्यम ‘द हिन्दुस्तान टाइम्स’मा मंगलबार एक लेखमार्फत सभापति लामिछानेले परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धकाे बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।
सभापति लामिछानेले कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक सहकार्यको इन्जिनमा रूपान्तरण गर्नुपर्ने बताउनुभयाे । नेपालको जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने उल्लेख गर्दै उहाँले एकीकृत क्षेत्रीय ऊर्जा बजार निर्माणको आवश्यकता रहेकाे बताउनुभएकाे छ। सीमापार व्यापारमा देखिने प्रशासनिक जटिलताहरू हटाउन आधुनिक र डिजिटल एकीकृत जाँच चौकी तथा उन्नत पारवहन करिडोर विकास गर्नुपर्ने लेखमा उल्लेख गरिएकाे छ ।
जनकपुर, लुम्बिनी, बोधगया तथा हिमाली क्षेत्रहरूलाई जोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयाे । नेपाल र भारतबीच समय–समयमा देखिएकाे सीमा विवादहरूलाई उग्र राष्ट्रवादको नाराबाजीबाट नभएर प्रमाणमा आधारित संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने सभापति लामिछानेको तर्क छ।
सभापति लामिछानेले नेपालको विकासलाई क्षेत्रीय स्थिरतासँग जोडेर हेर्नुपर्ने बताउनुभयाे । उहाँले वर्तमान समयलाई नेपाल र भारतबीचकाे सम्बन्ध नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा चित्रण गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्