Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


जीडीपीको अनुपातमा १० वर्षयताकै सानो र सन्तुलित बजेट ल्याएको अर्थमन्त्री वाग्लेकाे दावी

समय र स्रोतको चरम दबाबकाबीच बजेट निर्माण गरिएको जिकिर

39
Shares

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दावी गर्नुभएको छ ।

काठमाडाैंमा सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफि) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले समय र स्रोतको चरम दबाबकाबीच बजेट निर्माण गरिएको स्पष्ट पार्नुभएकाे छ।

आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गर्नुभयो । उहाँले ६ सय ५० अर्ब ऋणको चर्चा भएपनि त्यसको आधा भन्दा बढी हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा जाने हुँदा खुद ऋणको भार न्यून रहने विश्लेषण गर्नुभयो ।

आगामी वर्ष १ हजार ५ सय ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउदै उहाँले आन्तरिक स्रोत परिचालनमा सरकार दृढ रहेको बताउनुभएकाे छ । वैदेशिक ऋणको उपयोग क्षमतामा सुधार ल्याएर ऋण–जीडीपी अनुपातलाई सन्तुलनमा राखिने उहाँको भनाइ थियो । विगत २० वर्षमा निर्मित पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ (आर्थिक वृद्धि चतुर्भुज) को अवधारणा अघि सारिएको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो ।

बजारमा देखिएको शिथिलता र न्यून मागलाई सम्बोधन गर्न आयकरमा छुट र कर प्रोत्साहनका सुविधाहरू ल्याएको दावी छ । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्न र लगानीको वातावरण बनाउन सरकारले साना तर प्रभावकारी कदमहरू चालेको उहाँको जिकिर थियाे । अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता पुराना अधुरा आयोजनाहरू सम्पन्न गर्ने र नयाँ प्रविधिमैत्री अर्थतन्त्रको जग बसाल्ने रहेको बताउनुभएकाे छ ।