Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


लेबनानमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुकाे निर्देशन

कब्जा गरिएका स्थानमा इजरायली पकडलाई सुदृढ बनाउने मुख्य उद्देश्य

13
Shares

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहुले आइतबार एक भिडियो सन्देश जारी गर्दै सैन्य कारबाहीलाई थप सघन बनाउन निर्देशन दिनुभएको हो । दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण ब्यूफोर्ट रिज र ऐतिहासिक किल्ला इजरायली सेनाले कब्जा गरेपछि प्रधानमन्त्री नेतन्याहुको यस्तो अभिव्यक्ति आएकाे हाे । उक्त क्षेत्र अप्रिलको मध्यदेखि लागू भएको युद्धविराम पश्चात इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

प्रधानमन्त्री नेतन्याहुले लेबनानमा सैन्य परिचालन विस्तार गर्ने आफ्नो निर्देशनसँगै इजरायली सेनाले लिटानी नदी पार गरेको र ब्यूफोर्ट लगायतका प्रमुख रणनीतिक स्थानहरू नियन्त्रणमा लिएको जानकारी दिनुभयो। उहाँले हालको मुख्य उद्देश्य कब्जा गरिएका ती स्थानहरूमा इजरायली पकडलाई सुदृढ बनाउनु रहेको बताएका छन् ।

यसैबीच, प्रधानमन्त्री नेतन्याहुले सन् २०२३ अक्टोबरमा बहुपक्षीय द्वन्द्व सुरु भएयता इजरायलले हालसम्म ८ हजार हिजबुल्लाह लडाकुहरूलाई मारेको दावी गर्नुभयो । उहाँले पछिल्लो एक महिनामा मात्रै ७ सय लडाकु मारिएकाे बताउनुभएकाे छ।