काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ८ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीका आन्तरिक गतिविधिबारे छलफल हुने कार्यसूची छ । साथै अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयन र अनुशासनात्मक कारबाहीसम्बन्धी विषयहरू पनि एजेन्डामा रहेका छन् ।
त्यसैगरी प्रदेश अधिवेशनसम्बन्धी कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरूको गठन, महाधिवेशन निर्वाचन कार्यविधि तथा विधान संशोधनबारे पनि छलफल हुने बताइएको छ ।
बैठकमा संघीय सांसदहरूको पार्टी जिम्मेवारी निर्धारणसम्बन्धी विषय पनि उठाइनेछ । त्यस्तै जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनसँग सम्बन्धित व्यवस्था, र २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवारहरू एक तह माथिको अधिवेशनमा प्रतिनिधि हुने व्यवस्था लगायतका विषयमा पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्