एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा जारी द्वन्द्वलाई तत्काल दिगो रूपमा न्यूनीकरण गर्न आह्वान गर्नुभएको छ ।
रुसले युक्रेनमाथि गरेको पछिल्लो ठूलो आक्रमणपछि आयोजित सुरक्षा परिषद्को बैठकमा बोल्दै महासचिव गुटेरेसले वर्तमान युद्धको दिशा नियन्त्रणबाहिर जाने जोखिम बढेको चेतावनी दिनुभएकाे हाे। महासचिव गुटेरेसका अनुसार सन् २०२२ फेब्रुअरीदेखि हालसम्म युक्रेनमा ८ सय बालबालिकासहित १५ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । जसलाई मानव अधिकार उच्चायुक्तको कार्यालयले पुष्टि गरिसकेको हाे ।
युक्रेनको वर्तमान अवस्थाकाे बारेमा चर्चा गर्दै उहाँले नागरिक पूर्वाधार र विशेषगरी ऊर्जा क्षेत्रमा ठूलो मात्रामा विनाश भइरहेको उल्लेख गर्नुभयो । महासचिव गुटेरेसले युद्धको वर्तमान गति र तीव्रता दिगो नभएको भन्दै यसले अनपेक्षित र भयानक परिणाम निम्त्याउन सक्ने खतरा रहेकाे समेत बताउनुभएकाे छ। उहाँले शान्तिका लागि अहिले नै सही समय भएकोमा जोड दिनुभयो ।
यसैबीच, रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य लक्ष्यहरूमा गरिएका पछिल्ला क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू युक्रेनद्वारा रुसी भू-भागमा गरिएका आक्रमणको जवाफ भएको दावी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्