काठमाडाैं । १९ औं गणतन्त्र दिवस शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी देशैभर मनाइँदैछ ।
जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको गरेको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हाे । सरकारले सेही अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ । सैनिक मञ्च टुँडीखेलमा शुक्रबार बिहान गणतन्त्र दिवस विशेष समारोह आयोजना हुँदैछ ।
सैनिक मञ्चमा बिहान ८ बजेदेखि शुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने भएकाे छ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएकाे छ । गत वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ । उहाँले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपति पाैडेललाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निवासमा पत्र पठाउनुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।
साेही अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको स्मरण गरिँदैछ । गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षाहरू अझै बढेका हुन् । राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार र चुनौती देखिएकाे छ।










प्रतिक्रिया दिनुहोस्