Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


मनसुनी विपदजन्य घटनाकाे उद्धारका लागि १३४ गोताखोरसहित २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

यस वर्ष २ लाख २६ हजार ६ सय ६१ जनसंख्या प्रभावित हुने अनुमान

13
Shares

काठमाडौं । सरकारले नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै १ सय ३४ गोताखोरसहित २६ हजार २ सय १९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरू तीन वटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुने जनाएकाे हाे । प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुनी विपद्मा हुने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत तयार पारी लागू भइसकेको बताउनुभयाे । निकायहरूलाई जिम्मेवारी तोकिइसकेको बताउनुभउकाे छ।

मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५ सय २४, नेपाल प्रहरीका १० हजार ५ सय ८५ र सशस्त्र प्रहरीबाट १ सय ३४ गोताखोरसहित आठ हजार १ सय १० जना तयारी अवस्थामा राखिएको छ ।उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि तयार पारिएका जनशक्ति हुन् । यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्तिहरु परिचालन हुने जनाइएको छ ।

प्राधिकरणले यसपालि मनसुनजन्य विपदबाट देशभर ५१ हजार ८ सय ६८ घरपरिवारका दुई लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढी गर्मी हुने आँकलन गरेको र सोही आधारमा प्रभावितको सङ्ख्या अनुमान गरिएको प्रवक्ता महतले बताउनुभयाे ।

तर, कम पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक शतर्कता अपनाउन समेत अनुराेध गरिएकाे छ ।