Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


ओलम्पिक कमिटीको आधिकारिक किट पार्टनर ‘पेलियट’


117
Shares

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) र चिनियाँ चर्चित स्पोर्ट्सवेयर ब्रान्ड पेलियटबीच नेपाली खेलाडीहरूका लागि खेलकुद सामाग्री (किट) उपलब्ध गराउने सम्बन्धी एक औपचारिक सम्झौता भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एनओसी मुख्यालयमा मंगलवार आयोजित एक विशेष कार्यक्रममा पेलियटका उपाध्यक्ष झाओ ले र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै पेलियट अब आसन्न २०औँ एसियाली खेलकुद र सन् २०२८ मा अमेरिकामा आयोजना हुने लस एन्जलस ओलम्पिकमा नेपालको तर्फबाट सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको आधिकारिक किट आपूर्तिकर्ता बनेको छ । सम्झौता बमोजिम यी दुवै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली टोलीले प्रयोग गर्ने सम्पूर्ण पोशाक तथा खेलकुद सामाग्रीहरू पेलियट ब्रान्डले नै सौजन्यस्वरूप उपलब्ध गराउनेछ ।

नेपाल ओलम्पिक कमिटी र पेलियट ब्रान्डबीच यो पहिलो सहकार्य भने होइन । यसअघि चीनको सान्यामा सम्पन्न एसियन बीच गेम्समा पनि एक मौखिक समझदारी अनुरूप पेलियटले नेपाली टोलीलाई खेल सामाग्री उपलब्ध गराएको थियो, जसको गुणस्तरलाई खेलाडीहरूले मार्च पास र खेलका दौरान निकै रुचाएका थिए ।

त्यही सफल परीक्षण र सकारात्मक प्रतिक्रियाको एक महिनापछि अहिले दुवै पक्ष आधिकारिक रूपमा दीर्घकालीन सहकार्यका लागि औपचारिक सम्झौताको बिन्दुमा आइपुगेका हुन् । सम्झौता आदानप्रदान कार्यक्रममा एनओसी अध्यक्ष श्रेष्ठले उच्च गुणस्तरको अन्तर्राष्ट्रिय ब्रान्डसँगको यो साझेदारीले नेपाली खेलाडीहरूको हौसला बढाउने र देशको पदक जित्ने अभियानमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पेलियटका उपाध्यक्ष झाओले पनि नेपाली खेलकुद र ओलम्पिक टोलीसँग जोडिन पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै यस सहकार्यले आफ्नो ब्रान्डलाई नेपाली र अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्‍याउने धारणा राखे।