Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


वीपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्डको पुनःनिर्माण शुरू

बाढीले बगाएको ३ दशमलव २ किलोमिटर सडक जापानको अनुदानमा बन्ने

13
Shares

काठमाडाैं । जापानको सहयोगमा वीपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको पुनःनिर्माण शुरु गरिएको छ ।

नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा परियोजनाको शिलान्यास गरेका हुन्। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा वीपी राजमार्ग तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण शुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

२०८१ साल असोज १२ गतेको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ । पिप्ले–बर्खेखोला सडकखण्ड निमार्णको जिम्मा जापानस्थित सिमिजु कर्पोरेसनले जिम्मा लिएको हो ।

जापानले २ अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ साल कात्तिक १३ गते द्विपक्षीय सम्झौता गरेको थियो । यसअघि जाइका टोलीले पूर्वतयारीस्वरुप क्याम्प बनाउने र अस्थायी बाटो बनाउने लगायत काम गरेको छ ।

यो समेत गरी हाल वीपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको हो ।