Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेमा कित्ताकाटको अवस्था (भिडियाे रिपाेर्ट)


897
Shares

नरेन्द्र महतारा, काठमाडौं ।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि तीव्र बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने माग पदाधिकारी तहबाटै बलियो रूपमा उठ्न थालेको छ ।

बहुमत पदाधिकारीले ओलीलाई यो दबाब दिएपछि उनको पद संकटतर्फ धकेलिएको छ । ओलीले अझैंपनि सहज रुपमा नेतृत्व छाड्न खोजिरहेका छैनन् ।

तत्कालीन सत्ताको शक्तिशाली दल एमालेलाई जेनजी आन्दोलनले राम्रै सन्देश दिएको थियो । पुराना नेताहरुका गतिविधिले पार्टीलाई मात्र नभएर मुलुकलाई समेत धरापमा पारेपछि नेतृत्व परिवर्तन जरुरी रहेको सन्देश यो आन्दोलनले दिएको थियो । त्यतिबेला यो सन्देशको विषय सार्थक मानिए पनि समयक्रमअनुसार एमालेभित्र भने यसले छुन सकेन ।

त्यसको केही समयपछि भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गर्छ कि भन्ने थियो । तर, यो महाधिवेशनले समेत केपी ओलीलाई नै निर्विकल्प अध्यक्षका रुपमा अघि सार्‍यो । जसले प्रत्यक्ष प्रभाव निर्वाचन परिणामले देखाइसकेको छ ।

पार्टीको यो हालत हुनुमा नेतृत्व नै जिम्मेवार भएपछि अहिले फेरि नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । पार्टीका अधिकांश पदाधिकारीहरूले एमालेभित्र नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन गर्नुपर्ने दबाब बढाएका छन् । पार्टीभित्र विचार, संगठन र जनाधार संकटको स्थितिमा छ । यसको प्रमुख कारण नेतृत्व शैली नै भएपछि बहुमत पदाधिकारीहरु विकल्प खोज्न हौसिएका छन् ।