एजेन्सी । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण मृत्यु हुने बालबालिकाकाे संख्या ५ सय १२ जना पुगेकाे छ ।
यो दशकौंयताकै सबै भन्दा घातक प्रकोप बनेको हाे । शनिबार पनि मृत्युकाे हुनेकाे सङ्ख्या बढिरहेकाे छ । गत २४ घण्टामा मात्रै १३ बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको हाे । मार्च १५ देखि शुरु गरिएको तथ्यांक अनुसार कूल मृतक सङ्ख्या ५ सय १२ पुगेको छ ।
अहिले राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू) का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो । जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । एक पटक सङ्क्रमण भएपछि यसको कुनै विशेष उपचार छैन ।
यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ । दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ ।
१७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की बङ्गलादेश प्रमुख राना फ्लावर्सले यस साता उक्त अभियानमार्फत १ करोड ८० लाख बालबालिकासम्म पुगेकाे बताउनुभयाे ।
तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्