काठमाडाैं । नेपालले घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई १ सय २२ रनकाे फकिलाे अन्तरले पराजित गरेकाे हाे ।
कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा शुक्रबार भएकाे नेपालले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १ सय ९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाएका थिए । नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले २\२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनायो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो । यसअघि सन् २०२३ मा नेपालले ओमानसँगको खेलमा ३ सय १० रन बनाएको थियो । साेही खेलमा नेपालका ईशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६ र आसिफ शेखले ४३ रन बनाएका थिए ।
अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यहि शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो । कीर्तिपुरमा भएको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी थिए । नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेट र तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेका थियो । लिग–टु तालिकामा नेपाल २८ खेलमा २४ अङ्कसहित पाँचौं स्थानमा छ । अमेरिका २८ खेलमा ३८ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेकाे हाे ।










प्रतिक्रिया दिनुहोस्