Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पोल्यान्डमा थप ५ हजार सैनिक पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा


26
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा थप ५ हजार सैनिक पठाउने घोषणा गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत यस्ताे घाेषणा गरेकाे जानकारी गराउनभएकाे हाे। एक हप्ता अघि अमेरिकी रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको तैनाथी योजना रद्द गरेपछि यो घोषणा आएको हाे। उक्त निर्णय पोल्यान्डका राष्ट्रपति क्यारोल नवरास्कीसँगको अमेरिकाको सम्बन्धका आधारमा गरिएको राष्ट्रपति ट्रम्पले बताउनुभयाे । उहाँले गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा नवरास्कीलाई समर्थन गर्नुभएकाे थियाे ।

यद्यपि, राष्ट्रपति ट्रम्पले थप पठाइने सैनिकहरू अघिल्लो तैनाथी योजनाकै हिस्सा हुन वा अलग अभियान अन्तर्गत पठाइने हुन भन्ने बारेमा स्पष्ट पार्नुभएकाे छैन । हालैका हप्ताहरूमा ह्वाइट हाउसले ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत युरोपमा रहेका अमेरिकी सैनिकको सङ्ख्या घटाउने संकेत दिएको थियो । यस महिनाको शुरुमा अमेरिकाले जर्मनीबाट पनि ५ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको थियो । इरानसँगको युद्धकाे बारेमा ट्रम्प र जर्मन चान्सलर फेड्रिख मेत्सबिचको विवादपछि यो निर्णय आएको जनाइएकाे छ ।

राष्ट्रपति ट्रम्पले यसअघि इरानी वार्ताकारहरू सँगको वार्तामा अमेरिका ‘अपमानित’ भएको मट्जको अभिव्यक्तिको आलोचना गर्नुभएकाे थियाे। राष्ट्रपति ट्रम्पले नेटोका सहयोगी राष्ट्रहरूलाई इरानमाथि दबाब बढाउने अमेरिकी प्रयासमा साथ नदिएको भन्दै आलोचना पनि गर्नुभएकाे छ।