काठमाडाैं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउनका लागि दिएकाे जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ ।
एमालेकाे बिहीबारबसेकाे सचिवालय बैठकले यस्ताे प्रस्ताव गरेकाे हाे । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी गुरुङले दिनुभएको १० रोपनी १४ आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभयाे । २०८१ सालको असोजमा व्यवसायी गुरुङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनुभएको थियो । जसले पार्टीमा ठूलो विवाद सिर्जना गरेको थियो ।
अब एमालेले बल्खुमा रहेको आफ्नै जग्गामा पार्टी केन्द्रीय कार्यालयकाे भवन बनाउने तयारी थालेको छ ।नयाँ भवन नबनुञ्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको हाे । २०७२ साल वैशाखको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ ।
यसैबीच एमालेले केन्द्रीय सदस्यहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ । शुक्रबारको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार नेता प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग, भानुभक्त ढकाललाई सङ्गठन विभाग, विशाल भट्टराईलाई जनसङ्गठन समन्वय संयन्त्र र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव रहेकाे छ ।
त्यस्तै क्षितिज थेबेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मी आचार्यलाई अनेरास्ववियुको इन्चार्ज, निरज आचार्यलाई निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको एमालेले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्