Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत


0
Shares

काठमाडाैं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

विहीबार विराटनगरस्थित प्रदेश सभामा प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको बताएकाछन्।

सार्वजनिक भएको कार्यक्रम सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र युवा रोजगारलाई केन्द्रमा राखिएको छ। नीति तथा कार्यक्रममा प्रदेश सरकार भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएर अघि बढ्ने उल्लेख गरिएको छ। त्यसैगरि, सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री ड्यासबोर्डलाई थप सुदृढ बनाइने, मन्त्रालय तथा निकाय पुनर्संरचना गरिने र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी कार्यचापअनुसार दरबन्दी पुनरावलोकन गरिने कार्यक्रममा जोड दिइएको छ।

सोही क्रममा अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने घोषणा गरिएको छ। प्रदेशमा उत्पादित चिया तथा कफी खेतीलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रियस्तरमा पुराउन नीति तथा कार्यक्रमले विशेष जोड दिएको छ। चियालाई अन्तर्राष्ट्रिय बजारको माग र मापदण्ड अनुरुप उत्पादन र प्रशोधनका लागि प्रदेश सरकारले चिया अनुसन्धान केन्द्र र परिक्षण प्रयोगशाला समेत सञ्चालनमा ल्याउने जनाएको छ।

प्रदेश निजामती सेवामा युवापुस्तालाई आकर्षित गर्नका लागि सरकारले खुबी खोजी (ट्यालेन्ट हन्ट) गर्ने भएको छ। शान्ति सुरक्षा र प्रविधिमैत्री सेवा विस्तारमा पनि सरकारको जोड देखिएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको नतिजा स्वचालित बनाउन अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडीटीटी) प्रणाली लागू गरिने भएको छ। विपद् व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सरकारले विपद् जोखिम नक्सांकन, पूर्वसूचना प्रणाली र डिजिटल विपद् पोर्टल निर्माण गर्ने घोषणा सरकारले गरेको छ। पूर्वाधार विकासतर्फ प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरूयोजनाअनुसार सडक विस्तार र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ।

त्यसैगरि, सरकारले तमोर–चिसाङ डाइभर्सन परियोजना कार्यान्वयन, तमोर–लेउती सुरुङमार्ग, केचना–सगरमाथा द्रुतमार्ग तथा चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने घोषणा गरेको छ। खानेपानीतर्फ ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। ऊर्जा क्षेत्रमा सौर्य ऊर्जालाई प्राथमिकता दिँदै सरकारले ‘उज्यालो सहर कार्यक्रम’ अन्तर्गत राजमार्गसँग जोडिएका सहरमा सोलार सडकबत्ती जडान गर्ने घोषणा गरेको छ।

वन तथा वातावरण क्षेत्रमा सरकारले बाँस, तेजपत्ता, अल्लो, अगरउड, अम्रिसो लगायतका बिरुवारोपण अभियान सञ्चालन गर्ने भएको छ। पर्यटनलाई आर्थिक विकासको मेरुदण्डका रूपमा अघि सार्दै सरकारले विक्रम संवत् २०८३ श्रावणदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि सरकारले दुधकुण्ड, मुन्धुम ट्रेल, श्रीअन्तु, सन्दकपुर, पाथीभरा, हलेसी, बराहक्षेत्र लगायतको संरक्षण र प्रवर्धन गर्ने जनाएको छ। चारधाम सर्किट, शिव सर्किट र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन अवधारणा अघि बढाइने कार्यक्रममा समावेश गरिएको छ।

सरकारले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, छात्रावास, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब निर्माणलाई प्राथमिकता दिइएको छ।महिला, बालबालिका, अपांगता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संरक्षण र आर्थिक सशक्तीकरणका कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिने घोषणा गरेको छ।

स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार मातहतका अस्पताललाई कम्तीमा ५० शैय्यामा स्तरोन्नति गरी विशेषज्ञ सेवा विस्तार गरिने भएको छ। शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्रको पूर्वाधार विस्तार गरिने नीति पनि सरकारले अघि सारेको छ। सरकारले कृषितर्फ बिउ, मल र विषादीको गुणस्तर नियमन कडा बनाउने घोषणा गरेको छ। सहकारी क्षेत्रमा देखिएका अनियमितता, बचत अपचलन र ठगी नियन्त्रणका लागि कडा नियमन गरिने नीति सरकारले लिएको छ।