एजेन्सी । मेटाले आफ्नो विश्वव्यापी श्रमशक्तिको १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
जस अन्तर्गत करिब ८ हजार कर्मचारी प्रभावित हुने भएका हुन् । बुधबारदेखि शुरु भएको यो कर्मचारी कटौती तीन चरणमा गरिने भएकाे छ । कटौती हुने कर्मचारीहरूलाई स्थानीय समय अनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको छ ।कटौतीबाट हालसम्म प्रभावित हुने कर्मचारीहरूमा विशेषतः कम्पनीको ‘इन्टेग्रिटी टिम’का रहेका छन् ।
यी कर्मचारीले हानिकारक सामग्री र घृणाजनक अभिव्यक्ति हटाउने काम गर्छन् । साथै जागिर जानेहरूमा साइबर सुरक्षा टोली र कन्टेन्ट निर्माण तथा डिजाइन विभागका सदस्यहरू समेत रहेकाे जनाइएकाे छ। मेटाका प्रतिनिधिहरूले अमेरिकामा प्रभावित कर्मचारीहरूले १६ हप्ताको सेभरेन्स पे (बिदाइ सुविधा) पाउने बताएका हुन् । साथै, कम्पनीमा काम गरेको प्रत्येक वर्षका लागि थप दुई हप्ताको अतिरिक्त भुक्तानी समेत दिइने भएकाे छ ।
व्हाट्सएप, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले थप ६ हजार कर्मचारी भर्ना गर्ने योजना रद्द गरेको हाे । अन्य ७ हजार कर्मचारीलाई अन्य विभागमा स्थानान्तरण गर्ने जनाएको छ । कम्पनीभित्र कर्मचारीहरूको मनोबल खस्किँदै गएको समाचारबीच यस्तो कदम चालिएको हाे । वाल स्ट्रिट जर्नलले मेटाले आफ्नै एआई मोडल प्रशिक्षणका लागि कर्मचारीहरूको गतिविधि ट्र्याक गर्ने कार्यक्रम शुरु गरेपछि विवाद उत्पन्न भएको उल्लेख गरेकाे छ ।
कम्पनीको पूँजीगत खर्च यस वर्ष १ सय २५ अर्बदेखि १ सय ४५ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । जुन सन् २०२५ को तुलनामा दोब्बर भन्दा बढी वृद्धि हो । त्यसो त गोल्डम्यान साक्सको हालैको सर्वेक्षणअनुसार एआईका कारण विस्थापित रोजगारीका कारण यस वर्ष प्रत्येक महिना १६ हजार भन्दा बढी कर्मचारीको जागिर गुमिरहेको छ ।
यसैबीच, प्रविधि कम्पनी सिस्कोले पनि करिब ४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको हाे ।










प्रतिक्रिया दिनुहोस्