Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


अमेरिका स्कटल्यान्डलाई पराजित गर्दै आईसीसी क्रिकेट विश्वकप लिग-२ काे शीर्ष स्थानमा प्रवेश

स्कटल्यान्ड भने ६ विकेटले पराजित

0
Shares

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा बुधबार भएकाे खेलमा स्कटल्यान्डले दिएको १ सय ७० रनको लक्ष्य अमेरिकाले २७ ओभर १ बलमा ४ विकेट गुमाएर भेटाएकाे हाे। अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रन बनाएका छन् । स्कटल्यान्डका ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३ ओभर ३ बलमा १ सय ६९ बनाउँदा अलआउट भयो । स्कटल्यान्डका मार्क वाटले ६६ रन बनाएका थिए। अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिएका थिए । यो जितसँगै अमेरिका २७ खेलमा ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ३२ खेलमा ३८ अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेकाे हाे ।

कीर्तिपुरमा जारी लिग-२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन् । शृङ्खलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिकाबीच खेल हुने भएकाे हाे । लिग-२ तालिकामा नेपाल २७ खेलमा २२ अंकसहित पाँचौं स्थानमा रहेकाे छ ।