काठमाडौं । सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले आफ्नो सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायपालिकाको मान्यतामा कुनै पनि परिस्थितिमा कसैसँग सम्झौता नहुने दावी गर्नुभएकाे छ।
पदबहालीपछि मंगलबार राति सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश डा.शर्माले यस्ताे दावी गर्नुभएकाे हाे । आफ्नाे पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्नु भएकाे उहाँकाे भनाइ छ।
यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता नगरिने प्रधानन्यायाधीश शर्माकाे दावी थियाे। न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यवसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने उहाँकाे जिकिर थियाे ।
प्रधानन्यायाधीश शर्माले यस विषयमा कसैले कुनै शंका राख्नुपर्ने अवस्था नआउने पनि बताउनुभएकाे छ । त्यस्तै, प्रधानन्यायाधीश शर्माले न्यायिक सुशासन कायम गर्न ‘शून्य सहनशीलता’को नीतिलाई दृढतापूर्वक अवलम्बन गर्ने पनि बताउनुभयाे ।
न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती र अपारदर्शीता वा कुनै पनि प्रकारका अवाञ्छित गतिविधिप्रति कडा रुपमा नियन्त्रण गर्ने प्रधानन्यायाधीश शर्माकाे भनाइ छ। साथै, विचौलिया प्रवृत्तिको प्रभावकारी नियन्त्रण तथा निराकरणका लागि आवश्यक ठोस कदमहरू अघि बढाउने याेजना रहेकाे बताउनुभयाे ।
प्रधानन्यायाधीश शर्माले न्याय परिषद्लाई थप प्रभावकारी र सक्रिय बनाउँदै नियमित रूपमा बैठक बस्ने संस्थागत अभ्यासको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । पुराना वक्यौता मुद्दाहरूको शीघ्र फछ्याेटका लागि विशेष कार्ययोजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने उहाँले जानकारी गराउनुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्