काठमाडौं । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा सीमा विवाद चर्किँदा स्थानीयबीच झडप भएको छ । प्रहरी चौकी निर्माण र सीमा निर्धारणलाई लिएर तनाव बढेपछि अवस्था झडपमा परिणत भएको हो ।
मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीका बासिन्दाले सीमा विवाद उठाउँदै विरोध जनाएपछि बाजुराका स्थानीयसँग उनीहरूको भिडन्त भएको हो । लामो समयदेखि रहेको सीमा विवाद पछिल्लोपटक उग्र बन्दै गएको देखिएको छ ।
झडपका क्रममा प्रहरीसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिनु कुँवर, बिच्छिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा रहेका छन् । उनीहरूलाई ढाड, घाँटी, छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यसैबीच, हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव थप चर्किएको थियो । टोलीले ड्रोनमार्फत दृश्य खिच्न खोज्दा थाली गाउँका स्थानीय आक्रोशित बनेपछि विवाद अझ बढेको बताइएको छ ।
घटनापछि सञ्चार सम्पर्क अवरुद्ध हुँदा मेयर हमाल नेतृत्वको टोलीको अवस्था पनि स्पष्ट हुन सकेको छैन । उता, सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूको परम्परागत भोगचलनमा रहेको भन्दै चौकी निर्माणको विरोध गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्