काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उनले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको बताए । सांसद लामाले दुई तिहाइको शक्तिशाली सरकार भएपनि जनताको पीडा सम्बोधन हुन नसकेको र सरकारको उपस्थिति नागरिकले महसुस गर्न नपाएको टिप्पणी गरिन् ।
नागरिकको आम्दानी स्थिर रहने तर खर्चको बोझ निरन्तर बढ्दै जाने अवस्थाले सामान्य मानिसलाई जीवन निर्वाह गर्न कठिन भएको उनको तर्क छ । सांसद लामाले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कठोर कारबाही गर्न माग गरिन् । पेट्रोलियम पदार्थ र ग्यासमा लाग्ने करको पुनरावलोकन गरी जनतालाई प्रत्यक्ष राहत दिनुपर्नेमा उनले जोड दिइन् ।
उनले भनिन् ‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ,’ उनले भने ‘के यही हो सरकारले दिलाउन चाहेको सुशासन ? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन ?’
कृषि उत्पादन र आपूर्ति श्रृंखलालाई सुदृढ गर्दै आयातमा रहेको निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग उनले राखिन् । यस्तै, सार्वजनिक यातायातको मनपरी भाडा नियन्त्रण गर्न र निम्न तथा मध्यम वर्गीय परिवारलाई लक्षित गरी खाद्यान्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत विस्तार गर्न पनि उनले आग्रह गरिन् ।










प्रतिक्रिया दिनुहोस्