Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


निजी क्षेत्रमाथि सरकारले आतंक सिर्जना गरेको कांग्रेस सचेतक राईको आरोप

सरकारको नीतिगत प्रतिवद्धता र व्यवहारबीच ठूलो खाडल देखिएको टिप्पणी

0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाकाे बैठकमा प्रस्तुत गरिएकाे विनियोजन विधेयक, २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले यस्ताे आराेप लगानुभएकाे हाे । सरकारको नीतिगत प्रतिवद्धता र व्यवहारबीच ठूलो खाडल देखिएको टिप्पणी गर्नुभयो । सरकारले एकातिर नयाँ चरणको आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्ने दावी गर्ने तर अर्कातिर प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई विनाकारण धरपकड गरेर त्रसित बनाउने काम गरिरहेको बताउनुभयो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवको प्रशंसा गर्दै सचेतक राईले अर्थमन्त्रीका सुधारात्मक योजनाहरू प्रधानमन्त्री कार्यालय र सरकारको गृह प्रशासनका कारण कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गर्नुभयो । पूँजी पलायन (क्यापिटल फ्लाइट) को जोखिम बढ्दै गएकोप्रति सचेत गराउँदै राईले निजी क्षेत्रलाई समुन्नतिको इन्जिनका रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सचेतक राईले छलफलका क्रममा आफ्नो गृह जिल्लाको चिया निर्यातको समस्या पनि उठाउनुभएकाे छ। छिमेकी मुलुकको अस्थिर नीतिका कारण चिया निर्यात २० प्रतिशतले घटेको र चिया किसान तथा श्रमिकहरू मारमा परेको भन्दै उहाँले सरकारलाई ‘जीटुजी’ (सरकार–सरकारबीचको सम्झौता) मार्फत समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।