Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


पोखरामा अमरसिंह विद्यालयकाे स्वामित्वकाे जग्गामा रहेका ५३ संरचना हटाइए

संरचना हटाएसँगै उक्त जग्गा आयाे अब विद्यालयकै पूर्ण स्वामित्वमा

0
Shares

काठमाडाैं । पोखरा महानगरपालिका- १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ ।

विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यवसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो । यसअघि विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले त्यसको अवज्ञा गर्दै आएका थिए । सोही विवादका क्रममा व्यवसायीहरूले अदालतमा मुद्दा समेत दायर गरेका थिए । तर अदालतले विद्यालयकै पक्षमा फैसला गरेपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो ।

सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरका प्रमुख र व्यवसायीहरूबीच भएको छलफलपछि टहरा हटाउन ४ गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो । सोही सहमति बमोजिम व्यवसायीहरूले आफ्ना सामानहरू सुरक्षित रूपमा स्थानान्तरण गरी टहराहरू खाली गरेका हुन् ।

लामो समयदेखि विद्यालयको जग्गामा रहेका यी संरचनाहरू हटेसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ ।