Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण


0
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै नयाँ इतिहास रचेका छन्।

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले शनिबार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन्।

प्राप्त जानकारीअनुसार सहायक हवल्दार अनिता कार्की बिहान १० बजेर २० मिनेटमा सगरमाथाको शिखरमा पुगेकी थिइन् भने सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सफल आरोहण पूरा गरेकी हुन्।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही बनेका छन्। उनीहरूको सफलतासँगै सशस्त्र प्रहरी बलभित्र महिला सहभागिता, क्षमता र नेतृत्वको सशक्त सन्देश प्रवाह भएको बताइएको छ।

इलामको सन्दकपुर गाउँपालिका–माबुमा जन्मिएकी निम डिक्की शेर्पा तथा राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी अनिता कार्कीले साहस, अनुशासन र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
उनीहरु दुवै जना पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्ष मानिन्छन्। यसअघि उनीहरूले मनाङस्थित चुलु फार इष्ट हिमाल र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

सगरमाथा आरोहण अभियानमा निम डिक्की शेर्पाको मार्गदर्शकका रूपमा शेर्पा निमा साङ्गे शेर्पा तथा अनिता कार्कीको सहयोगी एवं मार्गदर्शकका रूपमा टासी ग्याल्जेन शेर्पा सहभागी रहेका थिए। सशस्त्र प्रहरी बलले उनीहरूको यो ऐतिहासिक उपलब्धिले संगठनभित्र महिला सशक्तीकरण, आत्मविश्वास र नेतृत्व विकासमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।