काठमाडाैं । चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
उद्योग विभागले चालु वर्षको साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको जनाएकाे हो । गत चैतसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी भित्रिएको थियो । उक्त अवधिमा सबै भन्दा बढी लगानी प्रतिवद्धता कृषिमूलक उद्योगमा आएको छ ।
कृषिमूलक १६ परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको हाे । त्यस्तै, पर्यटनमूलक क्षेत्रका १ सय ८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यस्तै , सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हाे ।
त्यस्तै, उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका ४ सय २१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हाे ।
ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सबै भन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हाे । गत वैशाखमा मात्र १ सय १३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।










प्रतिक्रिया दिनुहोस्