Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


बागमतीसहित देशका ७ वटै प्रदेशमा आज पनि वर्षा हुँदै


13
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको प्रभाव रहेको जनाएकाे छ ।

आइतबार बिहान गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरू वर्षा भइरहेको हाे । त्यस्तै, आइतबार दिउँसो भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे।

कोशी, बागमती, गण्डकी, कर्णाली, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका तराई भू-भागको केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको हाे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र मधेश प्रदेशमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी पहाडी र तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे। साथै तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।