Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’ (तस्बिरसहित)

सडकमै उत्रिए वरिष्ठ अधिकारी

0
Shares

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका- २५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ ।

सवारी दुर्घटना न्युनिकरण तथा प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी जाँच गरेका हुन् । कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको नेतृत्वमा भएको उक्त आकस्मिक चेकिङमा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय डाँडाको नाकका डीएसपी गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराई लगायत जिल्ला मातहतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो ।

चेकिङका क्रममा सिनियर प्रहरी अधिकृतहरू आफैँले सवारी चालक र यात्रुहरूसँग सोधपुछ तथा सवारी साधनको जाँच गरेका थिए । अन्य दर्जाका प्रहरी कर्मचारीहरूलाई सवारी जाँच गर्ने सही तरिका, चालक तथा यात्रुहरूसँग गरिने शिष्ट व्यवहार र कार्यकुशलताका बारेमा व्यावहारिक ज्ञान सिकाउन यो अभ्यास प्रभावकारी भएको एसपी कार्कीले जानकारी दिनुभयो । अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीहरूले त्यसको सुक्ष्म अवलोकन गरेका थिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने हेमजा खण्ड पछिल्लो समय ‘भाइरल रोड’ का रूपमा चर्चित छ ।

यस सडक खण्डमा सवारी साधनको गति तीब्र हुने र दुर्घटनाको जोखिम उच्च रहने भएकाले विशेष चेकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बस्नेतले बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरीले यस्तो सक्रियता देखाएको छ ।