Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


संसदमा अवराेध (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडाैं ।
प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारलाई लिएर दलहरुबीच विवाद बढ्दै जाँदा बुधबार प्रतिनिधि सभाको बैठक प्रभावित भयो ।

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुबारे प्रधानमन्त्री बालेन शाहले जवाफ दिनुपर्ने मागसहित दलहरुले बैठकमा अवरोध गरेका हुन् ।

प्रधानमन्त्री शाह संसद बैठकमा उपस्थित नभएपछि यसले विपक्षीलाई थप चिढाएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा अचम्मको दृश्य देखियो । प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । अन्तिम अवस्थामा भने प्रधानमन्त्री शाह बैठकमा अनुपस्थित भए ।

प्रधानमन्त्रीले उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षी दलहरूले अवरोध सुरु गरेका थिए ।

आजको बैठकमा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस त गरे । तर यो विषय अघि बढ्न सकेन । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीसहितका विपक्षी दलहरुले प्रधानमन्त्री शाहले सदनमा आएर जवाफ दिनुपर्ने भन्दै विरोध जनाएका थिए । विपक्षी दलहरुको विरोधका कारण संसद बैठक प्रभावित बनेको थियो । संसद बैठकमा सत्तापक्ष र विपक्षी दलहरुबीच भनाभनसमेत भएको थियो । कतिसम्म भने, प्रधानमन्त्री उपस्थित नभएको भन्दै श्रम, संस्कृति पार्टीका सांसदहरुले त बैठक नै बहिष्कारसमेत गरेका थिए ।