Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन


0
Shares

काठमाडाैं । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त संघर्ष समितिले बुधवार काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमाथिको दमन, बढ्दो महंगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्बासीमाथि दमन गरिरहेको आरोप लगाउनु भयो । उहाँले सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरु एकजुट भएर विरोध गर्नुपर्ने बताउनु भयो ।

हिङमाङले नेपालमा गरिब, भूमिहीन र निमुखा नागरिकमाथि पञ्चायतकालदेखि नै निरन्तर दमन हुँदै आएको दाबी गर्दै वर्तमान व्यवस्थामा पनि त्यही प्रवृत्ति दोहोरिनु दुःखद् भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुम्बासीको समस्या हल गर्ने कुरा थिएन । उसले बर्बर दमन मच्चाएर आज सुकुम्बासीमाथि अत्याचार मच्चाएको छ । यसका विरुद्धमा सुकुम्बासीहरुको पक्षमा हामी राजनीतिक शक्तिहरु, संयुक्त संघर्ष समितिमा आवद्ध राजनीतिक शक्तिहरु राज्यको यस कदमको घोर विरोध गर्न चाहन्छौँ । नेपालमा गरिब र निमुखा नागरिकमाथि निरन्तर रुपमा दमन हुँदै आएको छ । हिजो पञ्चायत कालमा पनि यस्तो दमन भयो, बहुदलमा पनि यस्तो दमन भयो । र गणतन्त्र भनिने पूँजीवादी व्यवस्थाभित्र पनि यो दमन भइरहेको छ । यसको मुख्य दोषि यो राज्य व्यवस्था हो । यसका विरुद्धमा नलाग्ने हो भने गरिब र सुकुम्बासी र अव्यवस्थितमाथिको दमन नरोकिने हाम्रो आँकलन छ ।’

सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरु बैशाख १२ र १३ गते खाली गराएको थियो ।–