Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सरकारको नीति तथा कार्यक्रममा दोस्रो चरणको आर्थिक सुधार समेटिनु स्वागतयोग्यः सीएनआई


143
Shares

काठमाडाैं ।
सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रले उठाउँदै आएका धेरै विषयहरू समेटिएको भन्दै यसलाई स्वागतयोग्य कदमका रूपमा टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रममाथि प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष पाण्डेले सूचना प्रविधि (आईटी) क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा अगाडि बढाउने घोषणा सकारात्मक रहेको बताउनुभयो ।

त्यसैगरी, सरकारले डिजिटल अर्थतन्त्रको विकास, महिला उद्यमीलाई सहयोग र विदेशी लगानी आकर्षित गर्न लगानीकर्तालाई भिसा सुविधा उपलब्ध गराउने जस्ता विषयलाई प्राथमिकतामा राखेको छ । एक महिनाभित्रै कम्पनी दर्ता गर्ने व्यवस्था र झन्झटरहित लगानीको वातावरण बनाउने सरकारको घोषणाले लगानीकर्तालाई थप प्रोत्साहित गर्ने अध्यक्ष पाण्डेको विश्वास छ । पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न ‘अल्टरनेटिभ फाइनान्स’ का मेकानिजमहरू ल्याउने र सार्वजनिक संस्थानहरूमा रणनीतिक साझेदार भित्र्याउने विषयलाई पनि परिसंघले सकारात्मक रूपमा लिएका छ ।

त्यस्तै, हरित विकास, ऊर्जा, पर्यटन क्षेत्रमा सुधार, स्टार्टअप र नवप्रवर्तन (इनोभेसन) मा गरिएको जोडले मुलुकको समग्र आर्थिक विकासमा टेवा पुग्ने उहाँले बताउनुभयाे । परिसंघले नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गरी आफ्नो आधिकारिक धारणा र सुझावहरू सरकारलाई बुझाउने तयारी गरेको छ । एक जिम्मेवार निजी क्षेत्रको रूपमा सरकारसँग समन्वय गर्दै अगाडि बढ्न परिसंघ प्रतिवद्ध रहेको पाण्डेले स्पष्ट पार्नुभयो ।