Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


देशैभर आजदेखि सरसफाइ अभियान शुरू

सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने लक्ष्य

26
Shares

काठमाडाैं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन साेमबारदेखि देशभर सरसफाइ अभियान शुरु गरेकाे छ।

अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले साेमबार वीर अस्पतालबाट औपचारिक रुपमा उद्घाटन गर्नुभएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको हाे ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको छ। मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ ।

चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिने भएकाे हाे। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने भएकाे छ । कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ ।