Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


इरानले युद्ध अन्त्यका लागि राखेको शान्ति प्रस्ताव राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार

परमाणु कार्यक्रम तथा संवर्धित युरेनियम हटाउनुपर्ने अडान कायमै

52
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले राखेको शान्ति प्रस्ताव अस्विकार गर्नुभएको छ ।

गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध शुरु गरेको सैन्य कारबाहीपछि दुई पक्षबीच जारी तनाव कम गर्न अहिले पाकिस्तानमार्फत वार्ता चलिरहेको हाे । अमेरिकाले पटाएको शान्ति प्रस्तावको जवाफमा इरानले पठाएको पछिल्लो मस्यौदालाई राष्ट्रपति ट्रम्पले पूर्णतया अस्विकार्य भन्दै खारेज गरिदिनुभयाे ।

इरानको अर्ध–सरकारी समाचार एजेन्सी तास्निमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चाहरूमा तत्काल युद्धविराम हुनुपर्ने, अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा इरानमाथि थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्ने माग राखिएको थियो । ह्वाइट हाउसले यी शर्तहरू आफ्ना लागि मान्य नहुने स्पष्ट पारेको छ । फेब्रुअरीदेखि जारी युद्धलाई वार्ताको माध्यमबाट टुङ्ग्याउन केही समयअघि एक युद्धविराम घोषणा गरिएको थियो ।

छिटपुट गोलीबारीका घटनाहरू भए तापनि हालसम्म उक्त युद्धविराम मुख्य रूपमा पालना भइरहेको देखिन्छ । राष्ट्रपति ट्रम्पले युद्ध छिटै टुङ्गिने बताए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने कडा शर्त अघि सार्नुभएको हाे। उहाँले इरानको कब्जामा रहेको संवर्धित युरेनियमको भण्डारलाई पूर्ण रूपमा नष्ट नगरेसम्म वा बाहिर ननिकालेसम्म युद्ध समाप्त भएको नमानिने दावी गर्नुभयाे ।

प्रधानमन्त्री नेतन्याहुले इरानको आणविक क्षमतालाई पूर्ण रूपमा निस्तेज पार्नु नै इजरायलको मुख्य उद्देश्य रहेको संकेत गर्नुभएकाे छ ।