Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रास्वपाको दोस्रो प्रशिक्षण (भिडियाे रिपोर्ट)


91
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई ‘सक्षम सांसद, सशक्त संसद’ भन्ने मूल उद्देश्यसहित दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

यो प्रशिक्षण ‘संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृङ्खला’ अन्तर्गत आयोजना गरिएको हो । यसले सांसदहरूको व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने प्रयास मात्र नभई नेपालको संसदीय अभ्यासलाई गुणस्तरीय, प्रभावकारी र उत्तरदायी बनाउने राजनीतिक सन्देश पनि दिने रास्वपाको विश्वास छ ।

नेपालको संसदीय अभ्यास लामो समयदेखि केही संरचनात्मक समस्याबाट गुज्रिरहेको छ । संसदमा प्रभावकारी बहसको अभाव, विधेयकमाथि गहिरो अध्ययन नगरी निर्णय गर्ने प्रवृत्ति, राजनीतिक आरोप–प्रत्यारोपमा केन्द्रित गतिविधि, तथा जनताका मुद्दाभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने अभ्यास बारम्बार आलोचित हुँदै आएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक देखाउने प्रयास गरिरहेको छ ।

त्यसैले आफ्ना सांसदहरूलाई व्यवस्थित प्रशिक्षण दिनु पार्टीको दीर्घकालीन रणनीतिक कदमका रूपमा बुझ्न सकिन्छ । यसले संसदीय भूमिकालाई केवल भाषण वा विरोधमा सीमित नराखी नीति निर्माण, कानुन निर्माण, जनप्रतिनिधित्व र सरकारमाथिको निगरानी जस्ता जिम्मेवारीसँग जोड्न खोजेको संकेत गरेको छ । रास्वपाले अधिकांश नयाँ अनुहारहरु भएकाले संसदीय अभ्याससँग घुलमिल गराउनका लागि यस खालका प्रशिक्षणहरु दिँदै आइरहेको छ । बजेट अधिवेशन सुरु हुनुपूर्व पार्टीले यो प्रशिक्षण दिएको हो । यो प्रशिक्षणले पार्टीका सांसदहरुलाई संसदमा सशक्त भूमिका निर्वाह गर्न जोड दिएको विश्वास लिइएको छ ।