Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


विपद पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउने मन्त्री श्रेष्ठकाे दावी


91
Shares

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूवानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिस्कृत गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरुको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताउनुभयो । उहाँले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थानविशेष पूर्वानुमान प्रणाली सञ्चालन गर्न लगानी बढाउनुपर्ने उल्लेख गर्नुभएकाे छ।

मन्त्री श्रेष्ठले पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउनको लागि वित्तीय परिचालन गरिने बताउनुभयो । उहाँले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापनमा मात्रै सिमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रसँग समेत जोड्नुपर्ने बताउनुभएकाे छ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा देखिएको फेरबदलको वैज्ञानिक अध्ययन आवश्यक रहेको समेत बताउनुभयाे । जलवायु परिवर्तनको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि आन्तरिक स्रोत र अनुसन्धान क्षमतालाई पनि बलियो बनाउनुपर्नेमा उहाँको जोड छ ।