काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ लाई पार्टीको बौद्धिक केन्द्रका रूपमा अघि बढाउने उद्घोष गर्नुभएको छ ।
प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान गरी उचित रणनीति निर्माण गर्न यो संयन्त्र क्रियाशील रहने बताउनुभएको हो ।
उपसभापति शर्माले मुलुकको समुन्नति र लोकतान्त्रिक प्रणालीको सबलीकरणका लागि पार्टीभित्र नवीन सम्भावनाहरूको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ७० वर्ष लामो राजनीतिक इतिहास बोकेको पार्टीले वर्तमानका विशिष्ट चुनौतीहरूलाई चिर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
बैठकमा उपसभापति शर्माले प्रतिष्ठानको उप–प्रमुखका रूपमा पार्टीका केन्द्रिय कार्यसमिति सदस्य मधु आचार्यलाई प्रश्ताव गर्नुभयो । उहाँले प्रतिष्ठानलाई व्यवस्थित बनाउन आगामी जेठ ३ गते बस्ने बैठकले कार्यकारी निर्देशक, निर्देशकहरू र सदस्यहरूको रुचिअनुसारको कार्यविभाजन टुङ्गो लगाउने जानकारी दिनुभयो ।
उपसभापति शर्माले सातै प्रदेशमा आयोजना गरिने विशेष कार्यक्रमको कार्यतालिकासमेत प्रश्तुत गर्नुभएको छ । यसअघिका कार्यक्रमहरू ‘निर्वाचनमा किन पराजय भयो’ भन्ने समीक्षामा केन्द्रित रहेकोमा अबका कार्यक्रमहरू ’आगामी निर्वाचन कसरी जित्ने’ भन्ने रणनीतिमा केन्द्रित हुने उहाँले स्पष्ट पार्नुभयो । स्थानीय तह र प्रदेश सरकारका उपलब्धिहरूको समीक्षा गर्दै आगामी बजेट र नीति कार्यक्रमका सन्दर्भमा सहजीकरण गर्न प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण तथा अन्तक्रिया सञ्चालन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश (कैलाली)मा वैशाख २६ र २७ गते,कर्णाली प्रदेश (सुर्खेत)मा वैशाख २८ र २९ गते,गण्डकी प्रदेश ९कास्की० मा वैशाख ३१ र जेठ १ गते, वागमती प्रदेश (काभ्रेपलाञ्चोक)मा जेठ ४ र ५ गते, मधेस प्रदेश (महोत्तरी) मा जेठ ६ र ७ गते, कोशी प्रदेश (सुनसरी) मा जेठ ८ र ९ गते र लुम्बिनी प्रदेश (रुपन्देही)मा जेठ १४ र १५ गते प्रशिक्षणको समय राखिएको छ ।
बैठकमा उपसभापति शर्माले पार्टीको विशेष महाधिवेशनपश्चात विकसित परिस्थिति र नवीन चरणलाई व्यवस्थित ढंगले सम्पादन गर्ने जिम्मेवारी केन्द्रिय कमिटीको काँधमा रहेको बताउनु भयो। निर्वाचनमा अपेक्षित परिणाम नआए पनि १७ लाख मतदाताले पार्टीलाई दिएको विश्वासलाई कमजोर ठान्न नहुने उहाँको तर्क छ ।










प्रतिक्रिया दिनुहोस्