काठमाडाैं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नागरिकलाई त्रसित बनाउने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनु भएको छ ।
नागरिकहरुले वर्तमान सरकारबाट डराएको महशुस गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिलाई तत्काल बन्द गर्न सरकारलाई सचेत गराउनुभएको हो ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक अध्यक्ष भुसालेले सरकार बनेको डेढ महिना पनि नपुग्दै नागरिकलाई झस्क्याउने खालको गतिविधि अघि बढाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुर्भाग्य के छ भने यो सरकारको पूरा मूल्यांकन गर्ने बेला भईसकेको छैन । यो हामीलाई थाहा छ । यसैबीचमा सरकार बनेको डेढ महिना पनि नहुँदै जे जस्ता गतिविधि भएका छन । यसले नेपाली नागरिकलाई झस्काएको छ । एक जना सुकुम्बासी बस्तीबाट लेखेटिँदै गरेकी युवतीले बोलेको सुन्न भयो युट्युवमा । उनको भनाई थियो–मलाई सरकारसँग डर लाग्यो । यसो हेर्दा यो ठट्टा जस्तो सुनिन सक्छ । डराएको, भागेको, काँपेको स्वर, सुनिन सक्छ । तर नागरिकले सरकारसँग जब डराउँछन्, डराएको महशुस गर्छन् । यो कुरा बोल्छन कि मलाई सरकारसँग डर लाग्छ । यसको परिणाम राम्रो हुँदैन । कहीँ राम्रो भएको छैन । हाम्रै इतिहासमा पनि राम्रो भएको छैन । संसारको कुनै पनि मुलुकमा यस्तो राम्रो भएको छैन । जब सरकारसँग, सरकारको सामथ्र्यसँग, सरकारको बहुमतसँग, यसको क्रियाकलापसँग जब नागरिक डराउँछन, अव अपसकुन सुरु हुन्छ राष्ट्रमा । यसर्थ त्यस्तो अपसकून शुरु नहोस् । समय छँदै यो सरकारले आफना कमजोरीहरु सुधारोस् भन्नका लागि पनि हामीले यो ध्यानाकर्षणका लागि सडकमा आज हामी आएका हौँ ।’ कार्यबाहक अध्यक्ष भुसालले सरकारले आफूलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्