Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन (तस्बिरसहित)

पहिलो दिन ३६ जनाको उद्धार

442
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ ९होल्डिङ सेन्टर० सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा यहि वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशत भन्दा बढीलाई मंगलबार साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिनुभयाे । सोही क्रममा उहाँले उद्धार गरिएका व्यक्तिहरूसँग कुरा गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारण बारेमा चासो राख्नुभएको हाे । उहाँले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पार्नुभयो । महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ ।

विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको हाे । स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ ।

कार्यवाहक प्रमुख डंगोलले सडकमा रहेका असहाय तथा अलपत्र नागरिकहरूको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको बताउनुभयाे । विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उहाँकाे भनाइ छ। महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ ।

पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ । महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । यसबाट सडकमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने र नागरिकले सरकारको अभिभावकत्व महशुस गर्ने डंगोलले बताउनु भयो ।

महानगरपालिकाले यस अभियानलाई सफल बनाउन आम नागरिकसँग सहयोगको अपेक्षा गरेको छ । सडकमा कोही पनि व्यक्ति अलपत्र परेको वा बिरामी अवस्थामा भेटिएमा मानवसेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । यो कार्य सबैको साझा दायित्व भएको भन्दै कार्यवाहक प्रमुख डंगोलले यसमा सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

पहिलो दिन उद्धार गरिएकाहरूमा ६ जना महिला र २२ जना पुरुष रहेका हुन् । उनीहरू २५ देखि ७८ वर्ष उमेर समूहका छन् । ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका रहेका छन् । उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका हुन् । ह्विलचेयर र वैशाखी प्रयोगकर्ताहरूलाई पनि सेन्टरमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ ।

साथै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यवाहक प्रमुख डंगोलले सडकमा अलपत्र परेका, बिरामी वा असहाय व्यक्तिहरू देखेमा मानव सेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ ।

साेही अभियानलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले समाजका सबै पक्षसँग हातेमालो गर्न समेत आह्वान गर्नुभयाे।