काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत एक सय ९३ जना पदाधिकारी पदमुक्त भएका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त भएको बताउनुभएकाे हाे । पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम शुरु गरिएको बताउनुभयाे ।
अध्यादेश अनुसार मन्त्रालय अन्तर्गतका प्रतिष्ठान, समिति र बोर्ड अन्तर्गतका ती पदाधिकारी पदमुक्त भएकाे उहाँकाे भनाइ छ। पदमुक्त भएका पदाधिकारीलाई पत्राचार गरिरहेकाे समेत बताउनुभयाे । जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकाय रहेकाे उहाँले जानकारी गराउनुभएकाे छ।
पदाधिकारीलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको सहप्रवक्ता डा. अधिकारीले उल्लेख गर्नुभएकाे हाे । राष्ट्रपति रामचन्द्र पौडेलले यहि वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ जारी गर्नुभएकाे थियाे ।










प्रतिक्रिया दिनुहोस्