काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्।
आईतवार निजी क्षेत्रका प्रतिनिधिहरुको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका छन् । उनले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले सरकार उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर नै अगाडी बढ्न चाहेका बताए ।
तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाई छ । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे । सरकार सरकारले उधोगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाई छ ।
उनले वर्तमान सरकार चुनावमा आफूहरुले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताउनु भयो । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्रभन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीहरुलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे ।
आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिँदै उनले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरेका छन् । नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाई छ । उनले आर्थिक सुधारका लागि गरिने कानून कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो उद्योगी व्यवसायीहरु समस्या लिएर नेताको घरघरमा पुग्न नपर्ने बताएका छन् ।
सरकारले ५–७ वर्षभित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । निजी क्षेत्रको क्षमताका आधारमा नै सरकारले लक्ष्य निर्धारण गरेको उनको भनाई छ । उनले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेकोले निर्धक्क भएर व्यापार व्यासाय सञ्चालन गर्न आग्रह गरे










प्रतिक्रिया दिनुहोस्