काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्रका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको कार्य पूर्ण भएको बताउनुभएको छ ।
२५७० औं बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालयको परिसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नगरप्रमुख महर्जनले आफ्नो पहिलो कार्यकालमा ललितपुरका विहार, बही, चैत्य र मन्दिरहरूको पुनर्निर्माण तथा जीर्णोल्वारमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै ती कार्यहरू हाल सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । सम्पदा संरक्षणको सन्दर्भमा पूर्व नगरप्रमुख स्व. बुद्धराज बज्राचार्यको योगदानको चर्चा गर्दै महर्जनले पुनर्निर्माण प्रक्रियामा सहयोग पुर्याउने भारत र जापान सरकारप्रति आभार प्रकट गर्नुभएकाे छ।
नगरप्रमुख महर्जनले मूर्त सम्पदाका साथै अमूर्त सम्पदाको जगेर्नाका लागि महानगरले बुद्ध जयन्ती समारोह समिति र हरेक चार वर्षमा हुने ‘महासम्यक’ पर्व सञ्चालनार्थ ‘अक्षय कोष’को व्यवस्था गरी आर्थिक स्थायित्व प्रदान गरेको जानकारी समेत दिनुभयो । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहनुभएका महर्जनले नदी किनारका सार्वजनिक जग्गाहरूलाई अतिक्रमणबाट जोगाउन नयाँ प्रश्ताव अघि सार्नुभएकाे छ । नदी किनारका खाली क्षेत्रहरूमा बुद्धका मूर्तिसहितका आकर्षक पार्कहरू निर्माण गर्नसके त्यसको उचित व्यवस्थापन हुने र भविष्यमा पुनः हुन सक्ने अतिक्रमणलाई रोक्न सकिने उहाँको तर्क छ ।
नगरप्रमुख महर्जनले यस प्रश्तावलाई छिट्टै उपत्यका मेयर्स फोरममा छलफलको विषय बनाउने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यमा बुद्धिजिवी तथा बौद्ध विद्वानहरूको रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । नेपालको संविधानबमोजिम मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान रहेकाले यो आफ्नो अन्तिम वर्ष भएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्