Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


म्यानमार सरकारले बुद्ध पूर्णिमाको अवसरमा दियाे १५ सय बढी कैदीलाई आममाफी


104
Shares

एजेन्सी। म्यानमारका सैन्य प्रमुख मिन आङ ह्लाइङले बुद्ध पूर्णिमा (कसोमको पूर्णिमा) को अवसर पारेर १ हजार ५ सय १९ जना कैदीहरूलाई आममाफी दिनुभएकाे छ।

सरकारी सञ्चारमाध्यम म्यानमार रेडियो र टेलिभिजनले बिहीबार दुई छुट्टाछुट्टै आदेश जारी गर्दै यो आममाफीको घोषणा गरेकाे जनाएका हुन् । आममाफी पाउनेहरूमा १ हजार ५ सय ८ जना स्वदेशी र ११ जना विदेशी नागरिक रहेका छन् । म्यानमारमा ‘कसोम’ महिनाको पूर्णिमालाई बुद्ध जयन्तीका रूपमा विशेष उल्लासका साथ मनाउने गरिन्छ ।

सार्वजनिक शान्ति र मानवीयता प्रवद्र्धन गर्ने, आममाफी पाएका व्यक्तिहरूलाई राष्ट्र निर्माणको मूलधारमा सहभागी गराउने र अन्य मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले यो कदम चालिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ । आममाफीको शर्तअनुसार माफी पाएका स्वदेशी कैदीहरूले भविष्यमा पुनः कुनै अपराध गरेमा उनीहरूले नयाँ सजायका साथै अघिल्लो सजायको बाँकी अवधि पनि भुक्तान गर्नुपर्नेछ ।

यता विदेशी कैदीहरूलाई भने माफी दिएलगत्तै देश निकाला गरिएको हाे । यसका साथै, सैन्य प्रमुखले देशका विभिन्न कारागारमा सजाय काटिरहेका अन्य कैदीहरूको सजायमा समेत छैठाैं भाग (एक–षष्ठांश) कटौती गर्ने निर्णय गरेका छन् ।
यसअघि गत वैशाख ५ गते (अप्रिल १७) म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा पनि ४ हजार ५ सय भन्दा बढी कैदीहरूलाई आममाफी दिइएको थियो ।