Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


इरानलाई पुनः वार्ताको टेबलमा ल्याउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने राष्ट्रपति ट्रम्पको नयाँ रणनीति

हर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा बन्द गर्ने तयारी

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा ल्याउनका लागि ‘सामुद्रिक नाकाबन्दी’ लाई नै उत्तम विकल्पका रूपमा रोज्नुभएको छ।

राष्ट्रपति ट्रम्पले आफ्ना शीर्ष सल्लाहकारसँगको हालैको छलफलमा इरानी बन्दरगाहमा जारी अमेरिकी नौसैनिक अवरोधलाई निरन्तरता दिन निर्देशन दिनुभएको हो । यस रणनीतिको मुख्य उद्देश्य इरानको अर्थतन्त्रमा अधिकतम चोट पुर्‍याएर सैन्य आक्रमण बिना नै तेहरानलाई सम्झौताका लागि बाध्य पार्नु रहेको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । यो योजना अन्तर्गत हर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा बन्द गर्ने तयारी समेत शुरु गरिएको छ ।

६ हप्तामा सकिने अनुमान गरिएको यो युद्ध नवौं सातामा प्रवेश गरेसँगै राष्ट्रपति ट्रम्पका लागि जोखिम समेत बढ्दै गएको हो । जल मार्ग बन्द हुँदा अमेरिकामा इन्धनको मूल्य वृद्धि भएको छ । जसले गर्दा राष्ट्रपति ट्रम्पको लोकप्रियता र विशेष गरी अर्थतन्त्र सम्हाल्ने क्षमतामाथि प्रश्न उठ्न थालेको छ । पेन्टागनका अनुसार हालसम्म अमेरिकाले यस युद्धमा २५ अर्ब डलर खर्च गरिसकेको छ । यो बढ्दो खर्च र जनआक्रोशले आउँदो नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन पार्टीको नतिजालाई असर गर्ने चिन्ता बढाएको हो।

कडा आर्थिक दबाबका बाबजुद इरानले आत्मसमर्पण गर्नेमा शंका व्यक्त गरिए पनि राष्ट्रपति ट्रम्प आफ्नो अडानमा स्पष्ट देखिनुभएको छ । उहाँले एक अन्तर्वार्ताका क्रममा“बमबारी भन्दा नाकाबन्दी बढी प्रभावकारी देखिएको बताउनुभयो। इरान अहिले निसास्सिरहेको र यो अवस्था अझै खराब हुने उहाँको दावी छ । । आफूले इरानलाई परमाणु हतियार बनाउन नदिने जिकिर गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै यो युद्ध युक्रेन युद्ध जस्तै लामो समयसम्म चल्न सक्ने संकेत समेत गर्नूभएको छ । अधिकारीहरूले प्राप्त गरेको गुप्तचरी सूचना अनुसार, नाकाबन्दीका कारण बिक्री नभएको तेल भण्डारण गर्न इरानलाई सकस परिरहेको छ । इरानको अर्थतन्त्र अब केही हप्ता वा केही दिन मात्र टिक्न सक्ने दावी गरिएको छ ।

राष्ट्रपति ट्रम्पले तेलको पाइपलाइनमा चाप बढेर प्राविधिक रूपमा क्षति पुग्ने र त्यसलाई पुनर्जीवन दिन असम्भव हुने चेतावनी समेत दिनुभयो । इरानले आफ्नो आणविक संवर्धनको सीमा घटाएर राष्ट्रपति ट्रम्पका शर्त नमानेसम्म अमेरिकाले यो आर्थिक घेराबन्दी खुकुलो नपार्ने देखिएको छ ।