Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस आज विविध कार्यक्रम गरी मनाइँदै


65
Shares

काठमाडौं । विश्वका विभिन्न देशमा बिहीबार अन्तर्राष्ट्रिय ज्याज दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं साँस्कृतिक संगठन (युनेस्को)को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० तारिखलाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरे बमोजिम यो दिवस मनाउन शुरु भएको हो । सोही दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ तथा ज्याज सङ्गीतप्रेमीलाई एकै ठाउँमा ल्याई ज्याज सङ्गीतको कला, यसको उत्पत्ति, भविष्य र प्रभावको बारेमा जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।

युनेस्कोले ज्याजलाई शान्ति प्रवर्द्धन, संस्कृतिबीच संवाद, विविधताको सम्मान तथा मानव अधिकार र मानवीय गरिमाको संरक्षणमा योगदान गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय कला विधाका रूपमा लिने जनाएको हो । साथै, यसले विभेद अन्त्य, अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धन, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिकालाई सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। सन् २०२१ मा अन्तर्राष्ट्रिय ज्याज दिवसको १०औं वार्षिकोत्सव विश्वकै सबै भन्दा ठूलो वार्षिक ज्याज उत्सवका रूपमा विभिन्न कार्यक्रमका साथ मनाइएको थियो ।

सोही अवसरमा न्युयोर्क, लस एन्जलस, पेरिसस्थित युनेस्को मुख्यालय, केप टाउन, मस्को, टोकियो र रियो दि जेनेरियो लगायत विश्वका विभिन्न सहरहरूबाट आयोजना गरिएका कार्यक्रमहरूको समापन एक भव्य अल–स्टार ग्लोबल कन्सर्ट’ मार्फत गरिएको थियो ।