काठमाडाैं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले तेस्रो जित हासिल गरेको छ ।
रुवान्डामा मंगलबार भएकाे खेलमा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । नेपालले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको रुवान्डाले १७ ओभर ४ बलमा ६५ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी कप्तान मारी बिमेन्यिमानाले १९ रन बनाइन् ।
नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिएकी हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनायो । नेपालकी कप्तान इन्दु बर्माले ३३, कविता कुँवरले २४ रन बनाइन् । रुवान्डाकी हेनरिएट इशिम्वेले ३ विकेट लिएकी हुन्।
प्रतियोगितामा नेपालको यो छैठाैं खेल हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा रुवान्डालाई पराजित गरेकाे थियो । त्यस्तै, नेपाल चौथो खेलमा भानुआतुसँग र पाँचौं खेलमा अमेरिकासँग पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी रहेका छन् । सबै टोलीले एक-अर्कासँग दुई पटक खेल्ने भएका हुन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने भएकाे छ । प्रतियोगिता यहि वैशाख १८ गते शुक्ररसम्म संचालन हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्