काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन सम्पन्न झण्डै दुई महिनापछि संसदीय दलको नेता चयन गरेको छ ।
समानुपातिकतर्फबाट निर्वाचित सांसद भीष्मराज आङदेम्बेलाई दलको नेता चयन गरेसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य र भीष्मराज आङ्देम्बे प्रतिस्पर्धामा रहेकोमा आङ्देम्बेको नाममा सहमति जुटेको हो । तर रोचक त के छ भने संसदीय दलको नेता बनेका आङ्दम्बे पूर्व सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
निर्वाचन सकिएको लामो समय बित्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको थिएन । अनेक बहाना देखाएर दलको नेता चयन गर्ने प्रक्रिया लम्विदै आएको थियो । जबकि अन्य दलहरुले समयमा नै संसदीय दलको नेता चयन गरेर संसदमा सोही अनुसारको भूमिका निर्वाह गरिरहेका थिए ।
यस्तो बेला कांग्रेस आन्तरिक विवादको भूमरीमा फसेको थियो । एकातिर विशेष महाधिवेशन समूह र अर्कोतिर १४ औं महाधिवेशन समूह फरकफरक कित्तामा उभिए ।
जसले संसदीय दलको नेता चयनमा समस्या निम्त्याएको थियो । दलको नेता चयनका लागि विभिन्न भेला, बैठकहरु नभएका होइनन् । तर, ती भेला र बैठकले परिणाम दिन सकेनन् । यी सबै कुरा भोगेको कांग्रेसले बल्लतल्ल संसदीय दलको नेता चयन गरेको छ । पार्टीले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको छ । दलको नेतामा अन्य आकांक्षीहरु भएपनि अन्तिम समयमा उनको नाममा सहमति जुटेको छ ।










प्रतिक्रिया दिनुहोस्