काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का २४ पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
गृह मन्त्रालयले पठाएको निर्देशनात्मक पत्रको आधारमा अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमा राख्दै बाहिर जान प्रतिबन्ध लगाएको हो ।
यो निर्णय राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको विषयमा छानबिन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो । सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न पत्राचार गरेको थियो ।
प्रतिबन्धमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाहसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु परेका छन् । राष्ट्रिय खेलकुद ऐन तथा आफ्नै विधान र साधारणसभाको निर्णय तथा राखेपले पटकपटक दिएको निर्देशनविपरित गत चैत १३ गते जबरजस्ती अर्ली इलेक्सन गर्न लागेको भन्दै एन्फालाई चैत ११ गते तीन महिनाका लागि निलम्बन गरेको थियो ।
निलम्बनमा परेको अवस्थामा पदाधिकारीहरु विदेश जानसक्ने आशंकमा यस्तो कदम चालिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्