Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, युवा पत्रकारिता पुरस्कार


130
Shares

काठमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष अग्रज खेल पत्रकारिता सम्मानबाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत भएका छन् ।

नक्सालमा आईतवार भएको मञ्चको २१औं वार्षिक साधारण सभाको अवसरमा यस वर्षको अग्रज खेल पत्रकारिता सम्मानबाट राउत र युवा पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे ।

अग्रज सम्मान पाएका राउतले सम्मानपत्रसहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो । लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै तीन दशक खेलकुद पत्रकारितामा बिताएका छन् । सो क्रममा उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए ।

सो क्रममा उनले दक्षिण एशियाली खेलकुद प्रतियोगितादेखि एशियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन् । रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभूवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्।

सम्मान प्राप्त गरेपछि रोशन सिंह राउतले आफ्नो घरजस्तै संस्थाबाट सम्मान पाउँदा गर्विलो महसुस भएको बताए । ‘मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु। तर यो सम्मान मेरो लागि अति विशेष छ। किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ,’उनले भने । सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन् । पुरस्कार प्राप्त गरेपछि उनले भने, ‘अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकेँ। यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ।’

समारोहका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गरेका थिए । उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सभापति नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद दिएका थिए ।