काठमाडाैं । एकदिवसीय अभ्यास सिरिजको पहिलो खेलमा ओमानले नेपालको ‘ए’ टोलीलाई ७० रनलकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार राति भएकाे खेलमा ओमानले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४४ ओभर ४ बलमा २ सय १० रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । नेपाल ‘ए’ का ईशान पाण्डेले ५२, कप्तान अनिलकुमार साहले ५० रन बनाए । ओमानका सकील अहमद र हसनैन अली शाहले ३/३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८० रन बनायो । ओमानका मुजिबुर अलीले ७२, जतिन्दर सिंहले ५८ रन बनाएका थिए । नेपालका आकाश चन्दले ४ विकेट लिएका छन् ।
नेपालको ‘ए’ टोली र ओमानबीचको एकदिवसीय शृङ्खलाको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुने भएकाे हाे। त्यसपछि नेपालको ‘ए’ टोलीले स्कटल्यान्ड र अमेरिकासँग पनि २–२ वटा एकदिवसीय खेल खेल्ने भएकाे छ ।
यसैबीच आउँदाे शनिबारदेखि कीर्तिपुरको त्रिवि मैदानमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानबीचको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खला शुरू हुने आयाेजकले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्