Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा एकै पटक दायर

पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठ र सहायक पथ प्रदर्शक अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर

715
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको हाे । आयोगले त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रूपमा सम्पत्ति खरिद गरेको पाइएको जनाएकाे छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा चार करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको रकम घुस लिएको आयोगले आरोप लगाएकाे हाे।

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने रूपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ ।

पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारीविरुद्ध समान चार करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएकाे हाे ।

पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठ र सहायक पथ प्रदर्शक अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर