काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिका इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको सफल उपचार सेवा लिने पहिलो बिरामी बनेका हुन् । पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजुलाई उनका छोरा अजयले उपचारका लागि यहाँ ल्याएका थिए । त्यसपछि अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो । मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक डाइग्नोस्टिक एन्जियोग्राम सम्पन्न गर्यो ।
करिब ३० मिनेटको उक्त परीक्षणका क्रममा उनको मुटुका दुई वटा नसाहरूअवरुद्ध भएको तथ्य फेला पर्यो । पहिलो पटकमै यस्तो महत्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा डा. तामाङले खुशी व्यक्त गर्नुभएकाे छ । हाल बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूको सल्लाहबमोजिम परिवारले चाँडै नै मुटुको अवरुद्ध नशा खुलाएर स्टेन्ट अर्थात जाली राख्ने योजना बनाएका हुन् ।
वास्तवमा एन्जियोग्राम भनेको मुटुको नशाको अवस्था कस्तो छ भनेर गरिने एक सुक्ष्म जाँच हो । सामान्यतया मुटु दुख्ने बित्तिकै हृदयघात नै भएको नहुन पनि सक्छ । यस्तो अवस्थामा एन्जियोग्रामले नशा अवरुद्ध भए, नभएको र हृदयघातको जोखिम रहे, नरहेको छर्लङ्ग पारिदिन्छ । केएमसी दुवाकोटमा सञ्चालनमा आएको यस क्याथ ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने र जाली राख्नेदेखि भल्भ खेल्ने उपचारसम्मका सम्पूर्ण सुविधाहरू उपलब्ध छन् ।
यो सफल उपचारले अब भक्तपुरवासीका लागि मात्र नभएर आसपासका सम्पूर्ण मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीको उपचार आफ्नै घरदैलोमा सहज बनाएको छ । दुवाकोटमा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट सञ्चालनमा ल्याउनुभएको हो ।










प्रतिक्रिया दिनुहोस्