Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपालले यूएईसँग दोस्रो पटक सामना गर्दै

नेपाल पहिलाे र यूएई दाेस्राे जितकाे खाेजी गर्दै मैदानमा

598
Shares

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत मंगलबार नेपाल र  संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऐतिहासिक दोस्रो खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल मंगलबार साँझ ५ बजेदेखि नेपाल र यूएईबीच कडा प्रतिस्पर्धा हुने भएका हाे । मंगलबारकाे खेलमा नेपाल पहिलाे जितकाे खाेजीमा रहेकाे छ। त्यस्तै, यूएई भने दाेस्राे जितकाे खाेजीमा रहेकाे हाे । शृंखला जोगाउन नेपाललाई मंगलबारको खेल जित्नै पर्ने दबाब छ । पहिलो खेल जितेको युएई शृंखला ‘क्लिन स्वीप’ गर्ने लक्ष्यमा रहेको हाे । सिरिजमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

त्यस्तै, यसअघि सोमबार राति सम्पन्न भएको खेलमा भने नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलो पटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि साेमबारको खेलमा पेस बलर हेमन्त धामीले टी-२०आई डेब्यू गरेका छन् । मंगलबारको खेलमा सन्तोष यादवले पनि डेब्यू पाउने सम्भावना रहेकाे हाे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी-२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । त्यस्तै, यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

नेपालको टी-२०आई टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका हुन् ।